टेलिभिजनमा सातैपिच्छे देखाइने कार्यक्रममा वान्समोर भन्न नपाएका बनेपाका रविन श्रेष्ठ बनेपाको मयूर चलचित्र मन्दिरमा भने धीत मर्ने गरी वान्समोर भनिरहेका थिए । उनी तीतेजीरेको प्रस्तुतिलाई आफ्नै आँखाअगाडि दोर्याएर हेर्न चाहन्थे । शुक्रबार उनको त्यो धोको पनि पूरा भयो । आफ्नै आँखा अगाडि दुई दर्जन हास्यकलाकारको प्रत्यक्ष अभिनय हेर्दै वान्समोरभन्दा भन्दै ३ घण्टा बितेको उनलाई पत्तै भएन ।
सुन्तली र धुर्मुसका प्रशंसक धुलिखेलकी तारा थापाले त ती दुवैसँग करिब ५ मिनेट कुराकानीसमेत गरिन् । 'यी दुई जोडीको अभिनय निकै राम्रो लाग्थ्यो,' उनले सुनाइन्, 'टेलिभिजनमा सातामा एकपटक आउने उनीहरूको मेरी बास्सैमा मात्र अभिनय देख्न पाएको थिए भने अहिले त आँखैअगाडि यिनीहरूको अभिनय देख्न पाएू ।' आँखैअगाडि उनीहरूको अभिनय हेर्न पाउँदा उनी निकै खुसी देखिएकी थिइन् ।
मेरी बास्सैका केदार घिमिरे
-माग्नेबूढा), सीताराम कट्ेल -धुर्मुस), कुञ्चना घिमिरे -सुन्तली) आदि कलाकारले 'ग्रहदशा' शीर्षकमा हास्यव्यङ्ग्य प्रस्तुत गर्दा दर्शकहरूबाट आएको वान्समोरको ध्वनिले कार्यक्रम हल नै गुञ्जायमान भएको थियो । केपी ओलीको अभिनय गरेका धुर्मुस राजनैतिक ग्रहदशा शान्त पार्न धामीको भूमिका गरेका माग्नेबुढाकहाँ जान्छन् । माग्ने बूढाले ग्रहदशा शान्त पारिदिन माओवादीका अध्यक्ष प्रचण्ड तथा एमालेका झलनाथको नाममा पूजाआजा गर्छन्, जसमा सुन्तलीले मधेसी युवतीको भूमिका निर्वाह गरेकी छिन् । उक्त प्रहसनमा धुर्मुस साँच्चिकै केपी ओलीजस्तै देखिएका थिए ।
देवीराम पराजुली -भोक लाग्यो), राजाराम पौडेल, शिवहरि वैरागी नेपाल -पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको) र जितु नेपाल -मुन्द्रे) आदिले राजनैतिक क्रियाकलापप्रति व्यंग्य प्रहार गर्दै अर्थतन्त्र टाट हुने लागेको अवस्थालाई 'एटीएम' शीर्षकमा प्रहसन प्रस्तुत गरेका थिए । जीरे खुर्सानीका मनोज आचार्य, शिवहरि पौडेल, गो विन्द न्यौपाने, गोपाल नेपाल -फिस्टे) तथा किरण केसीले देशमा विकृति फैलाइरहेका डान्सवारको चित्रण गरे । स्वस्तिका क्षेत्री, निरु खड्का आदिले प्यारोडी गीतमा नृत्य प्रस्तुत गरी दर्शकहरूलाई वान्समोर भन्न बाध्य बनाए । उक्त अवसरमा मरीचमान सिंह श्रेष्ठ -बल्छी धु्रर्व) आदिले सहिद गणराज्यको प्रहसन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायक संगीतकार टीका भण्डारीको प्यारोडी तथा हास्यकवि शैलेन्द्र सिम्खडाको कविताले दर्शकलाई वान्समोर भन्न बाध्य बनाएका थिए ।